तेह्रथुम । ओयाक्जुङ्ग–६ को प्रजाङ्ग बस्तीमा बस्ने ६ जनाको एक लिम्बु परिवारमा ३५ वर्षीय टिकाकुमारी घरकी एक्ली महिला हुनुहुन्छ । तर घरमा कोही नयाँ मान्छे आउँदा उहाँ आफैँलाई भान्सा छिर्न पर्दैन । आजभोलि मेलापातमा जाँदा कतिवेला घर पुगेर खाना बनाउने भन्ने पनि उहाँलाई चिन्ता छैन ।
श्रीमान् कमलबहादुर लिम्बुले काममा श्रीमती र आफुलाई भनेर भाग नलगाउँदा टिकाकुमारीले सुखको श्वास फेर्न पाउनुभएको हो । श्रीमान्कै सहयोगले उहाँलाई कृषिमा व्यावसायिक बन्न प्रेरित गरेको छ । उहाँ त्यही सहयोगका भरमा गाउँमा हुने भेला, गोष्ठी र तालिममा सहभागी हुन भ्याउनुहुन्छ ।
आफु घर बाहिर हुँदा श्रीमान्ले घरको काम सबै ढाकी दिएकाले पनि अहिले सफल भएकी हुँ भन्दै टिकाकुमारीले खुसी पोख्नुभयो । गाउँमै गठित प्रजाङ्ग महिला समुहकी उपाध्यक्ष समेत रहनुभएकी टिकाकुमारीले व्यावसायिक अदुवा र अकबरे खेती लगाउनुभएको छ । त्यही समुह मार्फत उहाँले ढाका बुन्ने तालिम लिएर घरैमा ढाका कपडा बुनेर हजारौँ रुपैयाँ पनि कमाउने गर्नुभएको छ ।
पोहोर साल अकबरे बेचेर कमाएको २५ हजारमा श्रीमान्को कमाइ थपेर बन्धकमा खेत पनि किन्नुभएको छ लिम्बु दम्पतीले । यसवर्ष पनि विरुवा थपेर झन्डै ७ सय अकबरे बारीमा रोेपेको उहाँले बताउनुभयो । बारी र भर्खर किनेको खेतमा पनि गरी अहिले सात क्विन्टल बढी अदुवा त बिऊ मात्र रोप्नुभएको छ उहाँ आफैँले । त्यसबाट ३५ क्विन्टल बढी उत्पादन गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।
जसबाट प्रतिकिलो ६० रुपैयाँका दरले मात्र विक्री गर्ने हो भने पनि दुई लाख रुपैयाँ आम्दानी हुन्छ । अदुवा, अकबरे सँगै तरकारी खेतीमा पोख्त टिकाकुमारी अरु खाद्यान्न बालीको खेती भन्दा यो फाइदा जनक भएको बताउनुहुन्छ ।
छोरा मान्छेले घर र भान्साको काम गर्नुहुदैन भन्ने संस्कारको नेपाली समाजका एक नमुना र असल श्रीमान् बन्नुभएको छ उहाँका श्रीमान् ३८ वर्षीय कुलबहादुर पनि । उहाँ कर्मी काम गर्नुहुन्छ । उहाँले कामका लागि घन्टौँ सम्म धाउनुपरे पनि श्रीमतीलाई घरको काम सघाउदै मासिक १५ हजार रुपैयाँ सहजै कमाउनुहुन्छ । कमलबहादुरले घर र खेतीलाई कमै मात्र समय दिनुहुन्छ । तर घर हुँदा भने टिकाकुमारीलाई हदै सघाउनुहुन्छ ।
पहिले–पहिले श्रीमतीको त्यति वास्ता नगर्ने उहाँ काम बाहेक बचेको पुरै दिन बाहिरै पनि बिताउनुहुन्थ्यो । तर जब गाउँमा महिला शशक्तिकरण र सचेतनाको ज्योति छि¥यो, तब कमलबहादुरका आँखा खुलेका हुन् । श्रीमान् बाहिरको काम गर्दा घरभित्र चुलोमै मात्र थुनिएकी टिकाकुमारीले पनि बल्ल केही गर्नुपर्ने रहेछ भनेर सिक्नुभएको हो ।
उहाँ भन्नुहुन्छ–‘मेरो र मेरो परिवारको आँखा खोलिदिने, भविष्य देखाइदिने दातृ संस्थाहरुलाई धेरै धेरै धन्यवाद छ ।’ जिल्लामा एक्सनएड अन्तराष्ट्रिय नेपालको सहयोगमा देउराली सोसाइटी नामक गैरसरकारी संस्थाले गाउँमै महिला समुह गठन गरी सचेतीकरण गरेकामा उहाँले धन्यवाद दिनुभएको हो ।
साधारण लेखपढ बाहेक अरु शिक्षा दिक्षा लिन नपाएकोमा लिम्बु दम्पतीलाई खुबै पछुतो छ । चार सन्तानका धनी यी दम्पती अब दिनदिनै नानीहरु ह्ुर्किदै गएकामा झनै खुसी छन् । लिम्बु दम्पती भन्छन्–हामीले लेखपढ गर्न नपाए पनि अब छोराहरुलाई चाँहि राम्रै पढाउन संघर्ष गर्दैछौँ ।
घरको काम चाँहि छोरी मान्छेले नै गर्नुपर्छ भन्ने पुरातन संस्कारमा हुर्किए पनि अन्ततः काम जसले गरेपनि हुने रहेछ भनेर बुझेका छन् लिम्बु दम्पतीले । बिगत बारे बताउदै कमलबहादुरले हाँस्दै भन्नुभयो– आमालाई सघाउनै भएपनि एउटी छोरी चाहियो भन्ने मनले एक पछि अर्को गर्दै ४ जना छोराहरु जन्मिए, तर अब चाँहि थाकिएछ, ढिलै भएपनि छोराहरुले पनि छोरीहरुको काम गर्न सक्छन् भन्ने बुझियो । उनीहरु अब सन्तान प्रति सन्तुष्ट रहेको बताउँछन् ।
घरदेखि विद्यालय पनि नजिकै छ । जेठो छोरो सिद्धकाली उच्च माविमा कक्षा ७ मा पढ्छन् । अरु साना छोराहरु पनि सोही स्कुलमा पढिरहेको टिकाकुमारीले बताउनुभयो । उहाँ भन्नुहुन्छ, अब त छोरो पनि बढ्दै छ, उसले पनि काममा धेरै सघाउन थालेको छ, सानाहरुले पनि घरको खत्र्याक खुत्रुक कामहरु सघाउँछन् सजिलै छ । पहिले पहिले कत्ति दुःख थियो, अहिले त धेरै सजिलो छ, आफुले चाहेको खर्च आफैँ जुटाउन सक्ने भइयो टिकाकुमारीले भन्नुभयो ।
दुखले उत्पादन गरेका तरकारी बेच्न उहाँ सदरमुकाम म्याङ्गलुङ्ग सम्म पनि आइपुग्नुहुन्छ । घर नजिकै बजार नहुँदा उहाँले ओयाक्जुङ्ग सँगै जिल्लाका मोराहाङ्ग, जिरिखिम्ती र म्याङ्गलुङ्ग सम्म धाउनुपरेको बताउनुहु्न्छ । व्यावसायिक रुपमा कडा परिश्रम सहित गरे माटोमा पनि सुन फल्ने कृषक टिकाकुमारी बताउनुहुन्छ ।
पहिले पहिले श्रीमान् विदेश जाने रहर गर्नुहुन्थ्यो, चाडपर्व आउँदा पाहुना पासो आउँदा समस्या हुन्थ्यो, उहाँले भन्नुभयो, तर अहिले म आफैले घरको खर्च र नानीहरुको पढाइ खर्च टारेपछि श्रीमान्ले कमाएको त चोखै बचत हुन्छ ।
No comments:
Post a Comment