Saturday, October 31, 2015

असल श्रीमान्की सफल श्रीमती



तेह्रथुम । ओयाक्जुङ्ग–६ को प्रजाङ्ग बस्तीमा बस्ने ६ जनाको एक लिम्बु परिवारमा ३५  वर्षीय टिकाकुमारी घरकी एक्ली महिला हुनुहुन्छ । तर घरमा कोही नयाँ मान्छे आउँदा उहाँ आफैँलाई भान्सा छिर्न पर्दैन । आजभोलि मेलापातमा जाँदा कतिवेला घर पुगेर खाना बनाउने भन्ने पनि उहाँलाई चिन्ता छैन । 

श्रीमान् कमलबहादुर लिम्बुले काममा श्रीमती र आफुलाई भनेर भाग नलगाउँदा टिकाकुमारीले सुखको श्वास फेर्न पाउनुभएको हो । श्रीमान्कै सहयोगले उहाँलाई कृषिमा व्यावसायिक बन्न प्रेरित गरेको छ । उहाँ त्यही सहयोगका भरमा गाउँमा हुने भेला, गोष्ठी र तालिममा सहभागी हुन भ्याउनुहुन्छ । 

आफु घर बाहिर हुँदा श्रीमान्ले घरको काम सबै ढाकी दिएकाले पनि अहिले सफल भएकी हुँ भन्दै टिकाकुमारीले खुसी पोख्नुभयो । गाउँमै गठित प्रजाङ्ग महिला समुहकी उपाध्यक्ष समेत रहनुभएकी टिकाकुमारीले व्यावसायिक अदुवा र अकबरे खेती लगाउनुभएको छ । त्यही समुह मार्फत उहाँले ढाका बुन्ने तालिम लिएर घरैमा ढाका कपडा बुनेर हजारौँ रुपैयाँ पनि कमाउने गर्नुभएको छ । 

पोहोर साल अकबरे बेचेर कमाएको २५ हजारमा श्रीमान्को कमाइ थपेर बन्धकमा खेत पनि किन्नुभएको छ लिम्बु दम्पतीले । यसवर्ष पनि विरुवा थपेर झन्डै ७ सय अकबरे बारीमा रोेपेको उहाँले बताउनुभयो । बारी र भर्खर किनेको खेतमा पनि गरी अहिले सात क्विन्टल बढी अदुवा त बिऊ मात्र रोप्नुभएको छ उहाँ आफैँले । त्यसबाट ३५ क्विन्टल बढी उत्पादन गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । 

जसबाट प्रतिकिलो ६० रुपैयाँका दरले मात्र विक्री गर्ने हो भने पनि दुई लाख रुपैयाँ आम्दानी हुन्छ । अदुवा, अकबरे सँगै तरकारी खेतीमा पोख्त टिकाकुमारी अरु खाद्यान्न बालीको खेती भन्दा यो फाइदा जनक भएको बताउनुहुन्छ ।

छोरा मान्छेले घर र भान्साको काम गर्नुहुदैन भन्ने संस्कारको नेपाली समाजका एक नमुना र असल श्रीमान् बन्नुभएको छ उहाँका श्रीमान् ३८ वर्षीय कुलबहादुर पनि । उहाँ कर्मी काम गर्नुहुन्छ । उहाँले कामका लागि घन्टौँ सम्म धाउनुपरे पनि श्रीमतीलाई घरको काम सघाउदै मासिक १५ हजार रुपैयाँ सहजै कमाउनुहुन्छ । कमलबहादुरले घर र खेतीलाई कमै मात्र समय दिनुहुन्छ । तर घर हुँदा भने टिकाकुमारीलाई हदै सघाउनुहुन्छ । 

पहिले–पहिले श्रीमतीको त्यति वास्ता नगर्ने उहाँ काम बाहेक बचेको पुरै दिन बाहिरै पनि बिताउनुहुन्थ्यो । तर जब गाउँमा महिला शशक्तिकरण र सचेतनाको ज्योति छि¥यो, तब कमलबहादुरका आँखा खुलेका हुन् । श्रीमान् बाहिरको काम गर्दा घरभित्र चुलोमै मात्र थुनिएकी टिकाकुमारीले पनि बल्ल केही गर्नुपर्ने रहेछ भनेर सिक्नुभएको हो । 

उहाँ भन्नुहुन्छ–‘मेरो र मेरो परिवारको आँखा खोलिदिने, भविष्य देखाइदिने दातृ संस्थाहरुलाई धेरै धेरै धन्यवाद छ ।’ जिल्लामा एक्सनएड अन्तराष्ट्रिय नेपालको सहयोगमा देउराली सोसाइटी नामक गैरसरकारी संस्थाले गाउँमै महिला समुह गठन गरी सचेतीकरण गरेकामा उहाँले धन्यवाद दिनुभएको हो । 

साधारण लेखपढ बाहेक अरु शिक्षा दिक्षा लिन नपाएकोमा लिम्बु दम्पतीलाई खुबै पछुतो छ । चार सन्तानका धनी यी दम्पती अब दिनदिनै नानीहरु ह्ुर्किदै गएकामा झनै खुसी छन् । लिम्बु दम्पती भन्छन्–हामीले लेखपढ गर्न नपाए पनि अब छोराहरुलाई चाँहि राम्रै पढाउन संघर्ष गर्दैछौँ ।

घरको काम चाँहि छोरी मान्छेले नै गर्नुपर्छ भन्ने पुरातन संस्कारमा हुर्किए पनि अन्ततः काम जसले गरेपनि हुने रहेछ भनेर बुझेका छन् लिम्बु दम्पतीले । बिगत बारे बताउदै कमलबहादुरले हाँस्दै भन्नुभयो– आमालाई सघाउनै भएपनि एउटी छोरी चाहियो भन्ने मनले एक पछि अर्को गर्दै ४ जना छोराहरु जन्मिए, तर अब चाँहि थाकिएछ, ढिलै भएपनि छोराहरुले पनि छोरीहरुको काम गर्न सक्छन् भन्ने बुझियो । उनीहरु अब सन्तान प्रति सन्तुष्ट रहेको बताउँछन् । 

घरदेखि विद्यालय पनि नजिकै छ । जेठो छोरो सिद्धकाली उच्च माविमा कक्षा ७ मा पढ्छन् । अरु साना छोराहरु पनि सोही स्कुलमा पढिरहेको टिकाकुमारीले बताउनुभयो । उहाँ भन्नुहुन्छ, अब त छोरो पनि बढ्दै छ, उसले पनि काममा धेरै सघाउन थालेको छ, सानाहरुले पनि घरको खत्र्याक खुत्रुक कामहरु सघाउँछन् सजिलै छ । पहिले पहिले कत्ति दुःख थियो, अहिले त धेरै सजिलो छ, आफुले चाहेको खर्च आफैँ जुटाउन सक्ने भइयो टिकाकुमारीले भन्नुभयो ।

दुखले उत्पादन गरेका तरकारी बेच्न उहाँ सदरमुकाम म्याङ्गलुङ्ग सम्म पनि आइपुग्नुहुन्छ । घर नजिकै बजार नहुँदा उहाँले ओयाक्जुङ्ग सँगै जिल्लाका मोराहाङ्ग, जिरिखिम्ती र म्याङ्गलुङ्ग सम्म धाउनुपरेको बताउनुहु्न्छ । व्यावसायिक रुपमा कडा परिश्रम सहित गरे माटोमा पनि सुन फल्ने कृषक टिकाकुमारी बताउनुहुन्छ । 

पहिले पहिले श्रीमान् विदेश जाने रहर गर्नुहुन्थ्यो, चाडपर्व आउँदा पाहुना पासो आउँदा समस्या हुन्थ्यो, उहाँले भन्नुभयो, तर अहिले म आफैले घरको खर्च र नानीहरुको पढाइ खर्च टारेपछि श्रीमान्ले कमाएको त चोखै बचत हुन्छ ।

बैँकिङ प्रणालीले भत्ता लिन सास्ती


तेह्रथुम (तीनजुरे पोष्ट) । सरकारले बैंकिङ प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि ज्येष्ठ नागरिक तथा अपांगता भएकालाई सेवा भन्दा बढी सास्ती भएको छ । तेह्रथुमको म्याङलुङ नगरपालिकाले सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीबाट वितरण शुरु गरेपछि ज्येष्ठ नागरिहरुले समयमा भत्ता पाउन नसकेको गुनासो गरेका छन् । 

सरकारले सामाजिक सुरक्षा भत्ता वितरणका लागि अनिवार्य बैंकिङ प्रणाली लागू गर्न निर्देशन गरेपनि यो प्रणाली सेवा भन्दा बढी सास्ती हुने भएको ज्येष्ठ नागरिकको गुनासो छ । दशैँको मुखमा त्यसै पनि बैँकमा भीड लाग्ने गर्छ । 

त्यसमाथि सामाजिक सुरक्षा भत्ता समेत बैँकबाटै वितरण हुँदा भत्ता लिन ३ दिन सम्म बैँक धाउनुपर्ने बाध्यता ज्येष्ठ नागरिकलाई आइलागेको छ । जिल्लामा हालसम्म गाविसले बैंकिङ प्रणाली लागू नगरेपनि नगरपालिकाले बैँकमार्फत भत्ता वितरण गर्दै आएको छ । 

शारीरिक रुपमा अशक्त बनेका वृद्धवृद्धा दुई दिन देखि सदरमुकाम म्याङलुङको नेपाल राष्ट्रिय बैँकमा भत्ता थाप्न लाइनमा बस्दै आएका छन् । १० बज्नु अघि बाटै लाइन बस्नेको भीड लाग्ने गरेको छ । भत्ता लिन बैँक धाएको दुई दिन सम्म पनि साँझपख सम्म उभिएपछि भोलि आउनु भन्ने आदेश पाएर घर फर्कदै गरेकी नगरपालिका १० साब्लाकी ७५ वर्षीय ठुलीमाया दर्जीले भन्नुभयो– भत्ता थापेर दशैँलाई चामल किनौँ भनेको तर आज पनि भएन, भोलि आउनु रे ।

 दर्जीले भन्नुभयो–पहिले गाउँमै गाविसले दिन्थ्यो, सजिलो थियो । अहिले बैंकमा दिन थालेपछि भत्ता लिन धेरै गाह्रो भयो । म त दिदैनन् कि भन्ने शंका पो लाग्छ ?

नगर अधिकृत सुरेन्द्र थापामगरले यस्तो प्रणालीले सेवाग्राहीलाई सास्ती भएपनि सरकारले नै अनिवार्य भनेकोले गर्नैपर्ने बाध्यता भएको बताउनुभयो । 

नगरपालिका भनिए पनि पहाडी जिल्लाका नगरपालिका क्षेत्र दुर्गम र ग्रामीण भेग समेत समेटिएकोले बैंक सम्म आईपुग्नै समस्या हुने गरेको छ ।

ज्येष्ठ नागरिक प्रतिको दायित्व



छत्र प्रधान


मानिसले बालक, किशोर, युवा र वृद्ध गरी चार कालको जीवन भोग्नुगर्छ । मानव जीवनमा सबैभन्दा माया र प्रेरणा पाउने अवस्था भनेको बाल्यावस्था हो भने चन्चले र रमाउने अवस्था शैशवकाल । 


जिम्मेवारीको पोको बोकेर अवसर र चुनौतीको सामना गर्दै दौडिने अवस्था हो युवा । युवा अवस्थाको रोजाइ र भोगाइबाट खारिँदै मानिस वृद्धवस्थामा पुग्छ, जुन अवस्था हाम्रो सन्दर्भमा एकाध अपवादबाहेक दुर्भाग्यपूर्ण हुनेछ ।


जुन बेला शारीरिक असक्तता, परनिर्भरता र आशामा बाँच्नुपर्छ त्यही बेला हेँला, घृणा र दुव्र्यवहारको सिकार बनेका छन् अधिकांश ज्येष्ठ नागरिक । बाल्यवस्था जस्तै वृद्ध पनि माया, ममता स्नेह र आधारभूत आवश्यकतामा परनिर्भर हुन्छ। तर यहाँ यसको उल्टो ज्येष्ठ नागरिक युवाहरूबाट अपहेलित हुन पुगेका छन् । ज्येष्ठ नागरिकका इच्छा र चाहनामा कसैको ध्यान पुग्न सकेको छैन ।


ज्येष्ठ नागरिक अनुभवले खारिँदै र विभिन्न आरोह(अवरोह पार गर्दै वृद्ध अवस्थामा पुगेको हुन्छ । जीवन र जगत्का हरेक अप्ठेरा पार लगाउन सक्ने क्षमता ज्येष्ठ नागरिकमा हुन्छ भन्ने हेक्का सबैले राख्नुपर्छ । 


काम गर्न सके सबैका प्रिय र नसके अपहेलित हुनु दुर्भाग्य हो । युवा शक्तिले ज्येष्ठ नागरिकको अनुभव र सीपको उच्च मूल्यांकन गर्दै सम्मान गर्नुपर्छ किनकि हामीमाथि उनीहरूको ठूलो लगानी, त्याग र समर्पण छ ।


ज्येष्ठ नागरिकको सम्मान र संरक्षणमा एकातर्फ आफ्नै छोराछोरी उदासीन देखिन्छन् भने अर्कोतर्फ राज्यले पनि उनीहरूको संरक्षणका लागि प्रभावकारी कार्यक्रम ल्याउन सकेको छैन । विश्वले ज्येष्ठ नागरिकको सम्मानमा दिवस मनाइरहेका बेला हामीले हेँला र दुव्र्यवहार होइन, माया ममता र स्नेहको अँगालोमा बाँधेर सम्मान दिन सक्नुपर्छ ।


आजका बालक भोलिका ज्येष्ठ नागरिक हुन् भन्ने भुल्नु हुँदैन। ज्यानमा ताकत छँदा फूर्ति गर्नु र पछाडि ताकतले छोडेपछि घुर्की लगाउने अवस्था आउनु हुँदैन ।

केही वर्ष अघिसम्म समाजमा ज्येष्ठ नागरिकको स्थान महत्वपूर्ण थियो । 

उनीहरू घरपरिवार र समाजमा मान(सम्मान र आदरले हुने गर्दथे । ज्येष्ठ नागरिकले जीवनकालमा सँगालेका ज्ञान, सीप अनुभव पछिल्लो पुस्ताको लागि मार्गदर्शन बन्दथ्यो। समाज प्रायजसो संयुक्त घरपरिवार प्रणालीमा चलेको थियो ।


 एउटै घर परिवारका धेरै सदस्य सगोलमा बस्थे। छुट्टिएर अलग बस्ने कुरा धेरै पछि मात्र लागू हुन्थ्यो। घरमूलीको स्थान ओजस्वी र उच्च थियो । परिवारमा धेरै सदस्य भएको घरलाई ’ठूला घर’ का रूपमा हेरिन्थ्यो ।

यसरी समाजमा स्वच्छ परम्परा, शुद्ध आचार व्यवहार, राम्रो सामाजिक सद्भाव एवं सौर्हाता र मर्या्दित आचरण एवं अनुशासनको सिलसिला सन्तुलित जीवन पद्धतिको रूपमा सुन्दर ढंगबाट विकास हुँदै आएको थियो ।

नेपाल घुम्न आउने विश्वका विभिन्न मुलुकका पर्यटकले पनि यो प्रणाली देख्दा कस्तो राम्रो भनेर तारिफ गर्दथे । तर वर्तमान अवस्थामा आइपुग्दा विकसित मुलुकको प्रभाव र आकर्षण नेपाली समाजमा पनि पर्दै गयो ।


    ज्येष्ठ नागरिकको जीवन सहज, सुरक्षित, सम्मानित र सुनिश्चित बनाउन विद्यमान सामाजिक सुरक्षा कार्यक्रमलाई पुनरावलोकन गर्नु आवश्यक छ ।

परिवारका अधिकांश सदस्य, दाजुभाइ वयस्क उमेरमा पुग्नासाथ आफ्ना पितामातासँग अलग भई छुट्टै बस्न रुचाउन थाले । समाजमा घरधुरी बढ्ने अवस्था र जमिनको विखण्डन हुने क्रम निरन्तर बढ्न थाल्यो ।

संयुक्त परिवारमा बस्ने वातावरण विस्तारै घट्दै गयो । युवायुवती, आफ्नै ढंगले सानो परिवारमा बस्न मन पराउने भए । यसले गर्दा नेपाली समाजमा पनि बुढेसकालमा अरूको सहयोग चाहिने अवस्थामा पुगेका ज्येष्ठ नागरिकको ठूलो संख्या क्रमशः बेसहारा, अपहेलित र तिरस्कृत हुँदै जाने स्थिति बढ्न थालेको छ ।


राज्यले ज्येष्ठ नागरिकलाई प्रत्याभूति गर्नुपर्ने सामाजिक सुरक्षाका कार्यक्रम प्रभावकारी ढंगले लागू गर्न सकेन भने भएका कार्यक्रम पनि प्रतिबद्धता र नारामा मात्र सीमित छन् । कार्यान्वयन पक्ष फितलो महसुस भएको छ सर्वत्र ।


मुलुकमा ज्येष्ठ नागरिकमैत्री वातावरण बन्नु आजको आवश्यकता हो। यस्तो अवस्थामा सबै पक्षको ध्यान ज्येष्ठ नागरिकलाई शारीरिक, मानसिक र आर्थिक रूपमा सक्षम र सुदृढ गराई उनीहरूको दुःख, पीडा र हीनताबोध कम गर्दै लैजानु र मनोरञ्जनात्मक एवं सन्तुष्टि दिने खालका कार्यक्रम सहज रूपमा स्थापित गर्दै जानु त्यत्तिकै आवश्यक छ ।


ज्येष्ठ नागरिकको अवस्थाप्रति राज्य, परिवार, वृद्धा श्रम र यस क्षेत्रमा काम गर्ने सामाजिक संघसंस्था संवेदनशील भई उनीहरूलाई समुचित सुविधा उपलब्ध हुने प्रबन्ध गर्न र माया, स्नेह र सम्मान प्रदान गर्न क्रियाशील भइरहनुपर्छ । यसका लागि यस क्षेत्रमा कार्यरत सरोकारवाला निकायबीच समन्वयात्मक वातावरणको विकास जरुरी छ ।


यस्ता प्रयासबाट समाजमा ज्येष्ठ नागरिकप्रति सम्मानको भावना जागृत भई उनीहरूको आत्मबल बढाउन सहयोग पुग्छ । अहिले हरेक क्षेत्रमा विश्वव्यापीकरणको प्रभाव छ। ज्येष्ठ नागरिकको क्षेत्र पनि यसबाट अछूतो रहन सक्दैन ।

नेपालमा ज्येष्ठ नागरिकको औसत आयुमा सुधार आए पनि उमेर वृद्धिको क्रमसँगै समस्या थपिँदै गएका छन् । अधिकांशमा बुढ्यौलीबाट उत्पन्न शारीरिक रोग, पीडा, दुर्बलता, हीनताबोध, एकाकी जीवनबाट पर्ने खालका अप्ठ्याराले पिरोलिरहेको पाइन्छ ।

ज्येष्ठ नागरिक एकातिर स्याहारसुसारको आवश्यकता महसुस गर्दै घरमै समय व्यतित गर्न बाध्य छन् भने अर्को्तिर आफ्ना शारीरिक, मानसिक अवस्थाका पीडा बोक्दै बसेका छन् । यस्तो अवस्थामा उनीहरूलाई सबैतिरबाट माया, प्रेम र सद्भावको खाँचो छ। भरपर्दो सहारा चाहिएको हुन्छ ।

ज्येष्ठ नागरिकमा उत्पन्न समस्याको समाधान आफ्नै घरपरिवारबाट मात्र सम्भव छ। घरपरिवारका सदस्यमा कर्तव्य र जिम्मेवारीबोधको खाँचो छ । ’पितृ देवो भव’, ‘मातृ देवो भव’ को भावना घरघरमा गुञ्जायमान हुन आवश्यक छ ।


सरकारी, समुदाय तथा गैरसरकारी क्षेत्रमा सञ्चालित वृद्धा श्रमलाई अझै व्यवस्थित बनाएर लैजानु जरुरी छ, जहाँ ज्येष्ठ नागरिकको प्रवेश सहज र सरल होस् । त्यस्तै निजी क्षेत्रमा खुलेका र खुल्दै जाने वृद्धा श्रमको पनि मापदण्ड बनाई सःशुल्क वृद्धा श्रममा बस्न चाहनेका लागि उपयुक्त वातावरण बनाई सुविधायुक्त बसोबासको प्रबन्ध गरिनु आजको आवश्यकता हो ।

त्यसैले ज्येष्ठ नागरिकको जीवन सहज, सुरक्षित, सम्मानित र सुनिश्चित बनाउन विद्यमान सामाजिक सुरक्षा कार्यक्रमलाई पनि पुनरावलोकन गर्नु आवश्यक छ । ज्येष्ठ नागरिक हाम्रा अमूल्य निधि र पथ प्रदर्शक हुन्। उनीहरूलाई घृणा होइन आदर गरौँ ।


’प्रधान’ राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका महासचिव हुन् ।

बालिका करणी गर्ने प्रहरी फन्दामा


दश रुपैयाँ दिएर ललाई फकाई करणी गरेको खुलासा

तेह्रथुम (तीनजुरे पोष्ट) । दश वर्षीय बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा तेह्रथुमको लालीगुरा“स नगरपालिका–१, रातोपाटीका ३९ वर्षीय झमक गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । 

लालीगुराँस नगरपालिका–९, लसुने स्थित ससुरालीमा टिका लगाउन गएका गुरुङले गएको शुक्रबार सांझ करिब ६ बजे सुस्त मनस्थिति भएकी बालिकालाई १० रुपैयां दिएर ललाईफकाई करणी गरेको इलाका प्रहरी बसन्तपुरका प्रहरी निरीक्षक गीतनारायण चौधरीले जानकारी दिनुभयो । 

बालिकाकी आमा घांंस काट्न गएका बेला घर नजिकैको गोठमा गुरुङले बालिकालाई जबरजस्ती गरेको भन्दै आफन्तले प्रहरीलाई किटानी जाहेरी दिएपछि प्रहरीले गुरुङलाई पक्राउ गरेको हो । 

प्रहरी निरीक्षक चौधरीका अनुसार गुरुङले अत्यधिक मदिरा सेवन गरी बालिकालाई १० रुपैयाँ दिएर ललाईफकाई करणी गरेको खुलेको छ । पक्राउ गरिएका गुरुङलाई मंगलबारबाट १० दिनको म्याद थप गरी बसन्तपुर प्रहरीले अनुसन्धान थालेको छ ।

आदरणीय पाठक महानुभावहरु


तीनजुरे पोष्ट अर्धसाप्ताहिक यहाँहरुलाई कस्तो लागिरहेको छ ? पत्रिका तपाई कहाँ नियमित आइरहेको छ कि छैन ? यसबारे हामीलाई जानकारी, सल्लाह, सुझाव र प्रतिक्रिया दिनुहोला । साथै यहाँहरु सँग भएका लेख, रचना, विचार, सूचना तथा विज्ञापन समेत यस पत्रिका मार्फत प्रकाशन गर्न चाहानुुहुन्छ भने निम्न माध्यमहरुबाट सम्पर्क गर्नुहुन अनुरोध छ ।

तीनजुरे पोष्ट अर्धसाप्ताहिक
म्याङलुङ्ग नगरपालिका–१, तेह्रथुम
सम्पर्क- ९८५२०६०९०८
इमेलः tinjurepost@gmail.com

Tuesday, October 13, 2015

'तिनजुरे पोष्ट' को यात्रा औपचारिक रुपमै प्रारम्भ

पत्रिका लोकार्पण गर्दै प्रजिअ वस्ती । तस्विर : तिनजुरे पोस्ट

तेह्रथुम (तिनजुरे पोष्ट) । तेह्रथुमको सदरमुकाम म्याङलुङबाट तिनजुरे पोष्ट नामक अर्धसाप्ताहिक समाचार मूलक पत्रिकाको प्रकाशन आरम्भ भएको छ । हरेक घर सत्य तथ्य निष्पक्ष सूचना र जनचेतनाको लहर भन्ने ध्येयले सन्चालित पत्रिकाको तेह्रथुमका प्रमुख जिल्ला अधिकारी मुरारीप्रसाद वस्तीले आज एक कार्यक्रमका बीच लोकार्पण गर्नुभयो । 

जिल्ला विकास समितिको हलमा भएको कार्यक्रममा जिल्लामै पहिलो पटक अर्धसाप्ताहिक रुपमा प्रकाशन आरम्भ भएको पत्रिकाको लोकार्पण गर्दै प्रजिअ वस्तीले पत्रिकाको निरन्तरता र छिट्टै पाठकको मन जित्न शुभेच्छा दिनुभयो । पत्रिकाका माध्यमबाट जनतामा सुसुचित गराई जिल्लाको शान्ति, सुरक्षा सुसासन र विकास निर्माण लगायतमा पनि सहयोग पुर्याउन उहाँले सुझाउनुभयो । 

कार्यक्रममा बोल्दै पुर्व जिविस सभापति किशोरचन्द्र दुलालले पनि पहिलो पटक अर्धसाप्ताहिक रुपमा प्रकाशन थालिएको पत्रिकाको उन्नति र प्रगतिको कामना साथै निरन्तरता दिन सुझाव दिनुभयो । उहाँले जिल्लामा यसअघि पनि आधा दर्जन बढी साप्ताहिक पत्रिका सुरुवात भएको तर निरन्तर नभएको स्मरण गराउदै पत्रिकाको निरन्तरताका लागि आवश्यक सहयोग पुर्याउने सरोकारवालाहरुलाई आव्हान समेत गर्नुभयो । 

यस्तै स्थानीय शान्ति समितिका संयोजक देउनारायण सम्बाहाम्फेले पनि पत्रिकाको निरन्तरता र सत्य, तथ्य सूचना सम्प्रेषण गर्न तथा पाठकको मन जित्न शुभकामना दिनुभयो । पत्रकार महासंघ तेह्रथुमका पुर्व सभापति तथा उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्र काफ्लेले जिल्लाको पत्रकारिताको इतिहास कोट्याउदै पत्रिकाहरु स्थापना भएर पनि निरन्तर सन्चालन हुन नसक्नुको एउटै कारण आर्थिक समस्या रहेको बताउनुभयो । उहाँले पहिलो पटक सुरु भएको अर्धसाप्ताहिक खबर पत्रिका तिनजुरे पोष्टको निरन्तरता र सत्य तथ्य सूचनाहरु निष्पक्ष ढंगले सम्प्रेषण गरी पाठकको मन जित्न सुझाव दिनुभयो ।

 गैरसरकारी संस्था महासंघका जिल्ला सचिव सन्तोष तिगेलाले जिल्लामा रहेका गैरसरकारी संघसंस्थाहरु सधै पत्रकार र पत्रिका सँग साझेदार गरिरहने बताउदै जनताको सूचनाको अधिकार पुर्ति गर्ने विषयमा गम्भीर हुन र पत्रिकाको निरन्तरतालाई जोड दिन सुझाव दिदै शुभकामना दिनुभयो ।

 पत्रकार महासंघ तेह्रथुमका अध्यक्ष उद्धव तिम्सीनाले पहिलो पटक सुरु भएको अर्धसाप्ताहिक पत्रिकाको निरन्तरताका लागि शुभकामना दिदै पत्रिकाको निरन्तरताकालागि सोच्न सुझाव दिनुभयो । कार्यक्रमको सुरुमा पत्रिकाका कार्यकारी सम्पादक प्रकाश धौलाकोटीले पत्रिका प्रकाशनको उदेश्य, चुनौती र सम्भावनाका विषयमा प्रष्ट पार्नुभएको थियो । 

पत्रिकाका प्रमुख समाचारदाता सीता रिमालले स्वागत गर्नुभएको कार्यक्रम पत्रिकाका सम्पादक रामबहादुर बाँनियाँको अध्यक्षतामा सम्पन्न भएको थियो भने समाचार सम्पादक ठाकुर सेनेहाङले कार्यक्रम सन्चालन गर्नुभएको थियो ।

म्याङ्लुङका दुई मन्दिर सरसफार्इ



तेह्रथुम (तिनजुरे पोष्ट) । दशैँ नजिकिएसँगै सदरमुकाम म्याङलुङका दुई वटा मन्दिर सरसफाइ गरिएको छ । 

चाडवाडका बेला भक्तजन्को संख्या पनि बढ्ने र आवतजावत् बढी हुने भएपछि म्याङलुङबजारको सिंहवाहिनी भगवती मेयङलुङ देवीस्थान र बसपार्क नजिककोे बाघकोरे (पाथीभरा देवी)को मन्दिर सरसफाई गरिएको हो । विभिन्न संघ संस्था र व्यक्तिहरुको आर्थिक सहयोगमा समाजसेवी शुभभगत प्रधानाङ्ग, रोशन श्रेष्ठ र सुनिल प्रधानको अगुवाईमा सरसफाइ तथा रंङरोगन गरिएको हो ।


 मन्दिर सरसफाइ तथा रङरोगनका लागि गुराँस बचत तथा ऋण सहकारी संस्थाबाट ५ हजार, नेपाल सुनचाँदी कला व्यवसायी समाज तेह्रथुमबाट ३ हजार २ सय, सहयोगी बचत तथा ऋण सहकारी संस्थाबाट २ हजार, जय अम्बे माता भेनियरबाट १ हजार, तेह्रथुम उद्योग बाणिज्य संघबाट २ हजार, सविन निर्माण सेवाबाट १ हजार, उज्वलता ढाका कपडा पसलबाट १ हजार, व्यवसायीहरु रविन पासवान र टंक ढुंगानाबाट १–१ हजार, गोकुल सुवेदीबाट ८ सय रुपैयाँ गरी कुल १८ हजारको लागतमा सरसफाइ तथा रङरोगन गरिएको हो ।


 त्यसमा सिंहवाहिनी देवीस्थान सरसफाईका लागि नेपाली सेना र पाथीभरा मन्दिरका लागि नेपाल प्रहरीले श्रम सहयोग गरेका थिए ।